१० दिन मौन रहेर गरेको ध्यान

-सन्तोष न्यौपाने/बेल्जियम-
११ वर्षअघि कान्छा काकाको ट्रक दुर्घटनामा परेको खबर आयो। काठमाडौँबाट सामान लिएर जाने क्रममा त्रिशुलीमा खसेर उहाँसहित अर्को एक जना आफन्त गायब। काकाको शव केही दिन पछि बेनिघाट नजिक खोलामा तैरिरहेको अवस्थामा फेला पर्‍यो। तर अर्को आफन्तको शव फेला परेन। परिवारले कुशको शव बनायर दाह संस्कार गरे। त्यतिबेला हाम्रो परिवार बेल्जियम जानका लागि प्रोसेस गरिरहेको थियो। कागजी प्रक्रियाको लागि ठमेलस्थित बेल्जियम कन्सुलेट आउजाउ गरिरहनु पर्थ्यो। तर काकाको देहान्तको खबरले ठूलो झट्का दियो। प्रोसेसलाई बीचमै छाडेर कपिलवस्तु घरतर्फ लाग्यौँ। बुबा बेल्जियममा हुनुहुन्थ्यो। दुःखद खबर सुनेपछि उहाँको बेचैनी बढेको र स्थिति खराब रहेको सन्देश आइरहेको थियो। त्यो घटनापछि म निकै विचलित भएँ। मनमा एउटा मात्रै प्रश्नले डेरा जमायो, ‘आखिर मान्छे जन्मँदा सबैलाई खुसी बनाएर आउँछ। तर मृत्युको बेला सबैलाई रुवाएर गइदिन्छ। आखिर किन ?’
त्यो समयसम्म म न त ज्योतिषमा विश्वास राख्थेँ न त ध्यान भन्ने कुरामा नै। त्यो घटनापछि म ज्योतिषमा आकर्षित हुन पुगेँ। मलाई जन्म र मृत्यु बारेमा जान्नु थियो। तर ज्योतिष ज्ञानले मलाई पूर्ण सन्तुस्ट पार्न सकेन। त्यसमार्फत् मैले पूर्वजन्मको फल अर्थात् कर्म, ग्रहहरुको असर बारेमा केही प्रष्ट हुने मौका पाएँ। जन्म र मृत्यु बारे खोजिरहँदा इन्टरनेटमा विपश्यना बारे पढ्न पाएँ। सुरुमा पढ्ने बितिक्कै यो ध्यान कोर्सको लागि जाने आँट आउनै सकेन। नियमहरु निकै कडा थिए, जुन पालना गर्न कठिन जस्तै देखिन्थ्यो।
विपश्यना बारे पढ्दै, खोज्दै जाँदा थप रुचि बढ्न थाल्यो। यही माइसंसारका उमेश श्रेष्ठको ब्लग पटक-पटक पढेँ। उनलाई म फेसबुक र ट्विटरमा पछ्याउँथेँ। यसै क्रममा उमेशले लुम्बिनीमा विपश्यना गरेपछिको फोटो सामाजिक सञ्जालमा राखेपछि मलाई यो कोर्स गर्नका लागि थप जाँगर आयो। घर नजिकै भएको हुनाले मैले लुम्बिनीलाई आफ्नो ध्यान कोर्सको लागि उपयुक्त ठानेँ। बेल्जियमदेखिनै कोर्सको लागि ३ महिना अगाडि अनलाइनमार्फत् दर्ता गरेर आफ्नो सिट सुरक्षित गराएँ। एक वर्ष अगाडि मेरो ३ महिने नेपाल बसाइमा ११ वर्ष अगाडिदेखिको जन्म, मन र मृत्यु बारेको रहस्य बुझ्नलाई निकै सहज तुल्याइदियो यो कोर्सले। यसले मेरो सोचाई, जन्म, मृत्यु,सांसारिक मोहलाइ हेर्ने धारणा मा यु टर्न गराएको छ।
पहिलो पटक विपश्यना ध्यान कोर्स गर्न बुद्ध जन्मभूमि लुम्बिनीको धम्म जननी पुग्दा निकै कौतूहलता छाएको थियो। बिहीबारदेखि सुरु हुने कोर्स भए पनि बुधबार नै पुग्नु पर्ने थियो। खासमा कोर्स त्यही साँझबाट सुरु हुने रहेछ। जानुअघि उमेशजीसँग आफूले त्यहाँ लैजानु पर्ने कपडा, अरु सामान लगायतको विषयमा जानकारी लिएको थिएँ, जसले सहज बनाइदियो।
बुधबार साँझ ५ बजे तिर हामीलाई १० दिने कोर्सको लागि पालना गर्नुपर्ने कठोर नियम र प्रक्रिया बताइयो। हलमा हामी ७० बेसी सहभागी थियौँ। ७० प्रतिशत जति विदेशी नागरिक थिए। सबै विपश्यना ध्यान गर्न आतुर देखिन्थे। हाम्रो कोर्सका गुरु कृष्ण राजकर्णिकार हुनुहुन्थ्यो।
बुधबार हामी सबैले मोबाइल, पर्स लगायतका आफ्ना सामानहरु त्यहाँको व्यवस्थापनलाई जिम्मा दिएका थियौँ। १० दिनसम्म आर्य मौन बसी ध्यान गर्नुपर्ने थियो। आफ्नै रुम पार्टनरसँग पनि बोल्न मनाही थियो। बोल्न त के इशाराले पनि बोल्न नपाइने, वचनबाट मात्र हैन मनबाटै मौन जसलाई आर्य मौन भनिने रहेछ। खाने बेलामा नि बोल्न पाइन्थेन। पूर्ण रुपमा मौन ध्यान अर्थात् मौन साधना।

Comments

Popular posts from this blog

आध्यात्मिकताको तेस्रो आँखा

पढाइमा ध्यान केन्द्रित कसरी गर्ने सजिलाे सूत्र

आत्मा के हो ?